Monday, June 27, 2011

किन खम्बुवान

सुकदेव चाम्लिङ राई

‘इश्वरले सबै मानिसलाई समान रुपले सृष्टि गरेका हुन् । उनीहरुलाई स्वतन्त्रता र आनन्द प्राप्त गर्ने समान अधिकार छ ।’ यो सन् १७७६ को ४ जुलाईमा थोमस जेफर्सनले अमेरिकी जनतासमक्ष प्रस्तुत गरेको स्वतन्त्रताको घोषणा पत्रको एक महत्वपूर्ण बुँदा हो । यसबेला अमेरिकामा ब्रिटिस उपनिवेश थियो । जसको विरुद्ध अमेरिकी जनता लडिरहेका थिए । यसैताका प्रस्तुत जेफर्सनको घोषणापत्रले तत्कालीन अमेरिकीलाई मात्र नभएर विश्वलाई नै प्रभावित तुल्याएको थियो । किनभने तत्कालीन विश्वका सबै देश कुनै न कुनै रुपमा साम्राज्यवाद र उपनिवेशवादको उत्पीडनमा थियो ।

सन्दर्भतिर लागौं, पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्नुअघि नेपालमा छुट्टाछुट्टै स्वतन्त्र राज्यहरु थिए । नेपालको हालको पश्चिमी सीमाना र त्यसभन्दा पनि पश्चिमी भू–भागसम्म मंगोलियन जातिको खसान गणराज्यहरु स्वतन्त्र थिए । मध्यपश्चिम भू–भागमा मगर जातिको १२ मगराँती र गुरुङ जातिको ९ तमुवान नामका गणराज्यहरु स्वतन्त्र ढंगले सञ्चालित थिए । पश्चिम–दक्षिणमा थारु जातिको थारुवान गणराज्य थियो । मध्य भू–भाग उपत्यकामा तीन वटा नेवार जातिको नेवाः गणराज्य थियो । त्यस्तै उपत्यका पूर्व बनेपादेखि सुदूरपूर्व आसामसम्म खम्बू जातिको खम्बुवान स्वतन्त्र रुपमा शासनाधिकार प्रयोग गरिरहेका थिए । त्यही खम्बुवान कालान्तरमा १६ खम्बुवान र १३ लिम्बुवानमा विभाजित भई अस्तित्वमा थिए । जुन गणराज्यहरुलाई पृथ्वीनारायण साहले युद्धमार्पmत एकीकरण गरेको थियो । जसलाई नै पछि नेपाल अधिराज्य भनिँदै आयो । तर, पृथ्वीनारायण शाहले जुन उद्देश्यका लागि छरिएका राज्यलाई विजय गरे तापनि अन्ततोगोत्वा त्यसले नेपाली समाजलाई झन् भावनात्मक हिसाबले खण्डित बनायो । उनको शेषपछि नेपालको राजनीति एकदमै खराबस्थितिबाट गुज्रियो । ऐतिहासिक रेकर्ड हेर्ने हो भने २ सय ३८ वर्षे शाहीशासनले भौगोलिक एकीकरणमात्रै गरेको थियो । यहाँका जाति, आदिवासी जनजातिलाई भावनात्मक रुपमा एकता गर्न सकेकै थिएन ।

बसोबासको दृष्टिले नेपालको पहिचान बहुजाति, बहुभाषि, बहुसंस्कृति र बहुधार्मिक रहँदै आएको छ । नेपालको विशेषता नै यही विविधता हो र रहिरहनेछ । तथापि, एकीकृत गोर्खाली केन्द्रीय राज्यसत्ताले यसलाई आत्मसात् गर्ने इच्छा देखाएन । बदलामा पराजित राज्य–रजौटामाथि उपेक्षा र उत्पीडन थोपरिरह्यो । परिणाम विभेद, गरिबी, अशिक्षा, पछौटेपन हात लाग्यो । शाहवंशीय राजतन्त्रले आदिवासी जनजातिलगायतमाथि कुनै न कुनै रुपले कमजोर र दमन गर्ने षड्यन्त्र अँगालेको थिएन भनेर किटान गर्न मिल्दैन । किनभने शाह राजाकै आँडमा बसेकाहरुले शक्तिको जथाभावी दुरुपयोग गरी आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, मधेसीलगायतमाथि दमनचक्र चलाएको सत्य हो । साथै यिनीहरुलाई थप कमजोर बनाउने दुष्प्रयाससमेत भएको थियो ।

नेपालमा २ सय ३८ वर्षसम्म शाहीशासन चल्यो । जसले नेपाली समाजमा विभेद, उत्पीडन, अशिक्षा र गरिबीजस्तो भयानक स्थितिलाई जन्म दियो । शासनाधिकार, स्रोतसाधनमाथिको पहुँच सीमित जाति र वर्गको पोल्टामा पारियो । जसले राजधानीबाहिरका जिल्ला, अञ्चल, गाविस, टोल, वडा पछाडि प¥यो । परिणामस्वरुव सामन्ती संस्कारको बढोत्तरी, गरिबी, उत्पीडन, जातीय र क्षेत्रीय शोषण सिर्जना हुन पुग्यो । यस्तै पृष्ठभूमिमा समय–समयमा जनताले बलिदानीपूर्ण संघर्ष पनि गरे । तर, पछिल्लो २०६२–६३ सालमा भूमिगत माओवादी र अन्य राजनैतिक दलहरुको संयुक्त आन्दोलनको बलमा सामन्ती राजतन्त्रलाई घुँडा टेक्न बाध्य बनायो र त्यसपछि सम्पन्न संविधानसभाको चुनावद्वारा गठित संविधानसभाले त्यसको समूल अन्त्य गरिसकेको छ । यसको औपचारिक घोषणा २०६५ साल जेठ १५ गते भइसकेको छ । साथै, देश संस्थागत रुपमै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । जसलाई तेस्रो संशोधित अन्तरिम संविधान–२०६३ ले संवैधानिक सुनिश्चितता थपेको छ । हिजोको एकात्मक केन्द्रीकृत शासन व्यवस्थाबाट प्रताडित, उत्पीडित र शोषितले न्याय पाओस् भनेर नै संघीय राज्य व्यवस्था अपनाइने भएको हो । यस्तो अवस्थामा अधिकारको लागि आदिवासी जनजाति सचेत छन् । तर, अधिकार न्यायोचित तवरले कसरी लिने भन्ने कुरामा एकजुट हुन सक्नुपर्छ । यो संक्रमणकालीन राजनीतिक अवस्थाको आवश्यकता पनि हो । नत्र फेरि उपलब्धीहरु गुम्ने खतरा रहनेछ र थप पचासौं वर्ष पछि परिने सम्भावना टार्न मुश्किल पर्नेछ ।

आदिवासी जनजातिले न्यायको अनुभूति खोसिएका सार्वभौमसत्ता फिर्ता लिएर मात्रै गर्नु पर्दछ । जसको लागि ऐतिहासिक पृष्ठभूमिको आधार पहिचान गरी स्वशासित स्वायत्त राज्य प्राप्त हुनुपर्दछ । अहिले विभिन्न जातीय संघसंस्था, संगठन स्वायत्त राज्यका लागि संघर्षरत् छन् । जसमध्ये पूर्वी नेपालमा लिम्बुवान र खम्बुवानको माग चर्किदै गइरहेको छ । यिनीहरुको आन्दोलनले एक हदसम्म उचाइँ लिइसकेको छ । जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको राज्य माग्ने खम्बुवान र लिम्बुवानमात्रै नभएर तामाङसालिङ, मगरात, तमुवान, थारुहट र नेवाःसमेत छन् । सबैका बारेमा यहाँ व्याख्या सम्भव नभएको हुँदा खम्बू(राई) र खम्बुवानको बारेमा संक्षिप्त जानकारी दिने कोसिस गरिएको छ ।

खम्बू र किरातको विवाद :
आज ‘खम्बू’ भन्दा स्वयम् जाति अन्यौलमा छन् । मौलिक इतिहासलाई पहिल्याउँदै जाँदा प्राचीन ‘खम्बू’ जाति नै ‘किरात’ भनी सम्बोधन गरिएको मान्न गाह्रो छैन । यद्यपि, यसमा मतान्तर देखिन्छ । जुन मौलिक नभई बोलीसुखको लागि आर्यहरुले भनिदिएको देखिन्छ । वास्तवमा ‘खम्बू’को अर्थ ‘धर्ती पुत्र’ हो । अर्को अर्थमा ‘खम्बू’ भन्नाले ‘चार किल्ला गाडिएको जमीनको मालिक’ हो । प्राचीन आर्य जातिसँग घुलमिल हुन थालेपछि मात्रै ‘खम्बू’ जाति ‘किरात’बाट बोलाइएका हुन् भन्ने थोरै विद्धानहरुको मत छ । उत्तरवैद्धिक कालमा आर्यहरुले हिमाल, पहाडतिर बसोबास गर्ने जातिसँग व्यापार गर्दथे । जसलाई उनीहरु ‘कैराते’ भन्थे । त्यसको अपभ्रंश नै ‘किराती’ हो । यसबाट पनि विद्धानहरुको कुरामा सहमत हुने आधार भेट्न सकिन्छ । यद्यपि, यो खोजकै विषय हो ।

तर, त्यसलाई प्रस्ट पार्न विद्धानहरुको मत अर्को पनि छ । यो ‘किराती’ शब्द संस्कृत शब्दबाट बनेको हो । संस्कृतमा हिमाल÷पहाडलाई ‘कैलाश’ भनिन्छ । त्यहाँ बस्नेलाई ‘कैलाशे’ भनियो । जुन अपभ्रंश हुँदै ‘किराती’ भएको तर्क सत्य मान्न सकिन्छ । उदाहरणका लागि धरानकालाई ‘धराने’ र खोटाङकालाई ‘खोटाङ्गे’ भनेजस्तै हो । यसरी किरातीले जाति नजनाई पहिचानमात्रै जनाउँदछ । अर्थात्, थेप्चो नाक भएका, होचो पुड्को शारीरिक बनावट भएका, जाँडरक्सी पिउने असभ्य मान्छे हो । आर्यहरुले यही अर्थमा ‘किराती’ शब्दको प्रयोग गरेको अनुमान छ । किनभने प्राचीन आर्यहरुले अनार्यमाथि सम्मानित व्यवहार गरेको देखिँदैन । अनार्य जाति उनीहरुका निम्ति दास समान हुन्थे । जसलाई आर्यहरुले ‘दस्यु’ अर्थात ‘दास’ भन्दथे । त्यसैले ‘किराती’ शब्द पनि होच्याउन नै प्रयोग गरिएको लख काट्न सकिन्छ ।
अर्जुनबाबु माबुहाङको ‘लिम्बुवान’ पुस्तकमा उल्लेखित सुनितकुमार चटर्जीका अनुसार ‘इसापूर्व एक हजार वर्ष पहिले आसामबाट मंगोलाइड जातिहरु पूर्वी पञ्जावका पर्वतहरुमा बसोबास गर्थे । उनीहरु जडिबुटी र सोमरस प्रयोग गर्थे । यसै क्रममा पश्चिमबाट आएका आर्यहरुसँग उनीहरुको घुलमिल हुन थाल्यो । ती मंगोलाइड जातिलाई आर्यहरुले किरात भनी सम्बोधन गर्थे ।’

खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टको घोषणा पत्रमा आज किराती भनी चिनिने राई, याख्खा, याम्पूm, लोहरुङ, आठपहरिया, वालुङ, सुनुवार, जिरेल, सुरेल, हायु, थामी, माझीआदि सबै प्राचीन खम्बुवंशी दाबी गरिएको छ । यिनीहरुको चूलापूजा गर्ने समान साँस्कृतिक परम्परालाई नै खम्बू जाति भएको आधार मानिएको छ ।

An old man participating in the KHAMBUWAN AUTONOMOUS STATE COUNCIL's rally
खम्बुवान स्वायत्त राज्य किन ?
प्राचीन इतिहास सिला खोज्दै अध्ययन गर्दा खम्बुवान विशाल साम्राज्य रहेको आभाष मिल्दछ । यसको स्पष्ट प्रमाण वैदिककालीन ग्रन्थहरुमा किरातीको उल्लेख भेटिनु पनि हो ।

इतिहासमा जित्नेको वर्णन हुन्छ । इतिहासमा अपवादबाहेक हार्नेको अस्तित्व स्वीकार हुँदैन । त्यसैले अभैmसम्म खम्बूको तथ्यगत इतिहास खोज्ने क्रम यथावत् छ । तर, खम्बूवंशीको पछिल्लो सुदृढ सत्तानै यलाखोम (काठमाडौ उपत्यका) मानिएको छ । जसलाई राजा यलम्बरले स्थापना गरेका थिए । जुन आधुनिक इतिहासमा किरात शासनकालको रुपमा समाविष्ट छ । यलाखोममा ३२ पुस्तासम्म यलम्बरका सन्तानहरुले शासन गरेको थियो । यद्यपि, यस विषयमा विद्धानहरुबीच मतान्तर देखिन्छ । तर, यलाखोममा यलम्बरका सन्तानले शासन गरेको कुरामा सबै एकमुख छन् ।

यलाखोमका अन्तिम खम्बू जातिका राजा योग्नेहाङ थिए । उनका दुई छोरामध्ये जेठा लिलिमहाङ र कान्छा खाम्सोहाङ थिए । खाम्सोहाङ बनेपा छाडी पूर्वतिर लागे । जसको मूलकारण यलाखोममा लिच्छवीहरुको राजनैतिक हस्तक्षेप थियो । जेठा लिलिमहाङले अगाडि नै यलाखोमको राज्यसत्ता परित्याग गरी पूर्व गइसकेका थिए । लिच्छवीको आगमनपछि खाम्सोहाङले पनि बनेपा छोडे र दूधकोशी किनारको मुग्लीदेरेपुमा ‘खम्बुक यक’ किल्ला खडा गरी खम्बुवान राज्यसत्ता सञ्चालन गरी बसेको खम्बुवानका विद्धानहरुको भनाई छ । प्राचीन खम्बुवान विशाल भए तापनि विभिन्न उतारचढावका कारण यसरी सीमित हुन पुगेको थियो । अझ विविध कारणले खम्बू जातिबाट लिम्बू छुट्टिएर गएपछि तिनै खाम्सोहाङका वंशज र प्रजामात्रै मौलिक नाम खम्बूबाट चिनिन पुग्यो । खम्बुवानको अघिल्लो केन्द्रीय सत्ता यलाखोम लिच्छवीले चोइटाइदिएपछि र खम्बुवानबाट टुक्रिएर लिम्बुवान राज्य गठन भएपछि नै खम्बू र खम्बुवानको सीमाना साँगुरिएको थियो ।

यसरी खम्बुवान खुम्चिएको थियो । खम्बुवान खुम्चिएर सीमित हुन पुगे तापनि स्वतन्त्र अस्तित्वमा रहेकै थियो । लिम्बुवानका इतिहासकार इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’मा ‘गोर्खा गणराज्यका राजा पृथ्वीनारायण शाहले युद्ध आक्रमण गरी स्वतन्त्र अस्तित्वमा रहेको स्वशासित खम्बुवान राज्यलाई नेपालमा मिलाए । उनले लामो संघर्ष र सैनिक क्षतिका बाबजुद १८३१ सालमा खम्बुवानको सार्वभौमसत्ता खोसेका थिए ।’ यसपछि खम्बू र खम्बुवानको अस्तित्वमाथि षड्यन्त्र सुरु भएको थियो । परिणामस्वरुप खम्बूवंशीको ऐतिहासिक दस्तावेज सबै ध्वस्त पारियो । साँस्कृतिक अतिक्रमणका अलावा आप्mनै ऐतिहासिक भूमिमा पराश्रित हुनु प¥यो ।
अब यस्तै ऐतिहासिक तथ्यको न्यायसंगत छानबिन गरी खम्बुवान स्वायत्त राज्य बनाइनु पर्छ । ऐतिहासिक भूगोलको निरन्तरता र पहिचानलाई सम्बोधन गर्न नयाँ आन्तरिक राष्ट्रियता खम्बुवान नै हुनुपर्छ । जसले मात्रै खम्बुवानलाई न्याय गरेको ठहर्छ । अन्यथा यस मुद्दाले पूर्वी नेपालमा नयाँखाले आदिवासी जनजातीय द्वन्द्व सिर्जना नहोला भन्न सकिन्न ।

प्रजातन्त्र पुनःस्थापनापछि खम्बुवान संघर्ष :
नेपालको माझकिरातले परिचित मध्यपूर्वी इलाकामा माओवादीले विद्रोह थाल्नुअघि खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) जन्मेको थियो । खरामो २०४९ साल भदौं ७ गते जातीय स्वशासनको नारा उराल्दै गठन भएको थियो । यसबेला माओवादी नेपालमा कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै थियो । अझ स्पष्ट भन्नुपर्दा वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक र संघर्षको आन्तरिक तयारीमा व्यस्त थियो । माओवादीले २०५२ साल फागुन २ गतेदेखि सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको निम्ति सशस्त्र संघर्ष सुरुवात गरेको थियो ।

खरामोका तत्कालीन अध्यक्ष गोपाल खम्बू (हाल गोपाल किराती)ले २०५७ सालको मध्यतिर स्वशासित खम्बुवान राज्यसत्ता स्थापना प्राप्त गरी छाड्ने दृढता व्यक्त गरेका थिए । अन्यथा, खम्बुवान स्वायत्त जनसरकार गठन गरी श्री ५ को सरकारको समानान्तर सत्ता सञ्चालन गर्ने तत्कालीन राजा वीरेन्द्रलाई चुनौतीसमेत अध्यक्ष खम्बूले दिएका थिए । आप्mनो शान्तिपूर्ण माग कतैबाट सुनुवाई नभएपछि २०५४ सालदेखि खरामो पनि भूमिगत हुन बाध्य भयो ।

तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा र कृष्णप्रसाद भट्टराईसमक्ष शान्तिपूर्ण ढंगले खरामोको माग राख्दा कुनै सुनुवाई नभएपछि सशस्त्र विद्रोहको लागि बाध्य पारिएको थियो । खम्बुवानको भाषिक र साँस्कृतिक अतिक्रमण गर्ने भोजपुरस्थित तीन संस्कृत विद्यालयमा बम विस्फोट गरी सशस्त्र विद्रोहको संकेत दिइयो । भोजपुरको सल्यान, कटुन्जे र दिङ्लामा रहेका तीन संस्कृत विद्यालयमा बम विस्फोटन गरिएको थियो । यसपछि विभिन्न छापामार कार्वाही, सामन्त र जातीय एकाधिकारवादको विरोधमा सशक्त सशस्त्र संघर्षमा खम्बुवानको आन्दोलन रुपान्तरण भएर गयो ।

(काठमाडौंबाट प्रकाशित आदिवासी जनजाति केन्द्रीत फायर मासिकमा वर्ष ४, अंक २, माघ २०६५ सालमा प्रकाशित लेख हो ।)

No comments:

Post a Comment